नेकपा स्कुल विभागमा ईश्वर पोखरेल
फाइल फोटो
काठमाडौं लामो समयको विवादपछि नेकपा सचिवालय बैठकले विभिन्न ३३ विभागको नेतृत्व टुंगो लगाएको छ । विवादित बनेको स्कुल विभागको नेतृत्व उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका ईश्वर पोखरेलले पाएका छन् । नेकपा स्कुल विभागमा सचिवालय सदस्य पोखरेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य घनश्याम भुसाल र वेदुराम भुसाललगायतले दाबी गरेका थिए ।
विदेश विभागको नेतृत्व वरिष्ठ नेता माधवकुमार नेपाल, संगठन विभागमा वामदेव गौतम र प्रचारप्रसार विभागमा नारायणकाजी श्रेष्ठले पाएका छन् । तीन दिनदेखि लगातार सर्दै आएको नेकपा सचिवालयको बैठक शुक्रबार बिहान ११ बजेपछि बसेको थियो । बिहीबारको बैठक अन्तिम समयमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारण स्थगित भएको थियो ।
साउन १८ गते उपचारका लागि भन्दै प्रधानमन्त्री ओली सिंगापुर गएका थिए। त्यहाँ पनि पूर्वनिर्धारितभन्दा तीन दिन बढी बसेर फर्किए। साउन १३ पछि नेकपा सचिवालय बैठक बस्न सकेको थिएन । प्रधानमन्त्री सिंगापुर भ्रमणबाट फर्किएपछि पटकपटक बैठक स्थगित भएको थियो । यसअघि साउन २८ र २९ गते बोलाइएको बैठकसमेत अन्तिम समयमा स्थगित भएको थियो।