नेपालगंजमा स्लो बाइक प्रतियोगिता हुदै

  ९ माघ २०७७, शुक्रबार ०७:३०

तिब्र गतिमा मोटरसाइकल चलाउनलाई निरुत्साहित गरी ट्राफिक नियम अनुसार सिमित गतिमा सवारी चलाउन प्रोत्साहित गर्नका लागि नेपालगंजमा स्लो बाइक प्रतियोगिता आयोजना हुने भएको छ । सक्सेस फोरम नेपालगञ्ज नामक संस्थाले नियमित रुपमा प्रत्येक बर्ष आयोजना गर्दै आईरहेको स्लो बाईक कम्पिटिसन को छैठौँ श्रृंखला आयोजना गर्न लागेको हो ।

आजभोली दैनिक रुपमा सञ्चार माध्यममा सडक दुर्घटना र दुर्घटनाबाट घाइतेका साथै ज्यान गुमाएका मुख्य समाचारहरू दिनहुँ जसो पढ्न पाइन्छ । यसरी सडक दुर्घटनाका कारण दिनहुँ ज्यान गुमाउनेको क्रम जारी छ । यसैगरी पैदल यात्री साइकल यात्री र अन्य सवारी साधनमा मोटरसाईकलको ठक्करले भएको दुर्घटनाको संख्या बढी छ । पैदल यात्री साइकल यात्री ज्यान जोखिममा राखेर सन्त्रासमा हिडडुल गर्दछन । यही कुरालाई मनन गर्दै बढ्दो दुर्घटनालाई कम गर्न तिब्र गतिमा मोटरसाइकल नहाक्न र ट्राफिक नियमको पालना गर्न सबैलाई सकारात्मक संदेश दिने उद्देश्यले भोलि माघ ९ गते शुक्रबार प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

हालसम्म ४० बढि सहभागीले आफ्नो नाम दर्ता गराई सकेको जानकारी कार्यक्रम संयोजक रबिन शर्माले बताएका छन् । पत्रकार, नागरिक समाज, विद्यार्थी लगायतले नाम दर्ता गरेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय नेपालगञ्ज बाँकेको सहकार्यमा आयोजित प्रतियोगिताको समापनमा ट्राफिक नियम सम्बन्धी ट्राफिक कार्यालयबाट जानकारी दिइनेछ ।

प्रतियोगितामा लाइसेन्स प्राप्त कुनै पनि नेपाली नागरिकले रु.३०० तिरी नाम दर्ता गर्न सक्नेछन् । प्रतियोगितामा नियम पुर्याई सबै भन्दा ढिलो पुग्ने प्रतियोगि क्रमशः प्रथम, द्धितिय, तृतिय र सान्तवना हुनेछन् । विजेतालाई क्रमशः १०१००, ५१००, ३१०० र २१०० नगद पुरस्कारको ब्यवस्था गरिएको छ । प्रतियोगितामा खुट्टा नटेकि सूचारु रुपमा मोटरसाइकल चलाउनु पर्ने, दुई पाङ्ग्रे मोटरसाईकल चालकले मात्र भाग लिन पाउने, इन्डिकेटरसहित सही अवस्थामा रहेको मोटर साईकलले भाग लिन पाउने लगायतका नियमहरू तय गरिएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website