न्यूनतम पारिश्रमिक समयानुकूल परिमार्जन गरी लागू गर्न माग
सल्यान २७, साउन ।
पत्रकारहरुको न्यूनतम पारिश्रमिक समयानुकूल परिमार्जन गरी लागूगर्न माग गरिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिको आयोजना र नेपाल पत्रकार महासंघ सल्यान शाखाको समन्वयमा सोमबार सम्पन्न दुईदिने पत्रकार महासंघको वर्तमान भूमिका र अबको कार्यदिशा विषयक कर्णाली प्रदेश स्तरीय कार्यशाला गोष्ठीले ११ बुदेँ सल्यान घोषणा पत्र जारी गर्दै पत्रकारहरुको न्यूनतम पारिश्रमिक समयानुकूल परिमार्जन गरी लागू गर्न माग गरेको हो ।
प्रेस स्वतन्त्रताको रक्षा, श्रमजीवि पत्रकार ऐन कार्यान्वयन र सूचनाको हक लागू गर्ने सवालमा सबै पक्ष प्रतिवद्ध हुनुपर्ने ठहर गर्दै न्यूनतम पारिश्रमिक समयानुकूल परिमार्जन गरी लागू गर्नुपर्ने निष्कर्ष निकालिएको छ । घोषणा पत्रमा पत्रकारितामा क्रियाशील नभएर अन्य पेशा, व्यवसायमा सक्रिय नेपाल पत्रकार महासंघका साधारण सदस्यहरुलाई महासंघको सदस्यता त्याग गर्ने स्वघोषणा गरी शुद्धिकरण अभियानमा सक्रिय हुन आग्रह गरिएको छ ।
यस्तै केन्द्र, प्रदेश र स्थानीयतहले सञ्चारसम्बन्धी कानूनहरु बनाउँदा सरोकारवालासँग पर्याप्त छलफल र परामर्श गर्नुपर्ने, समानुपातिक विज्ञापन नीति लागू गर्न र स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यमलाई उपलब्ध गराउनु पर्ने, पत्रकारको क्षमता अभिवृद्धि तथा सहजताको लागि प्रदेश स्तरमा सञ्चारसम्वद्ध संरचना स्थापना गर्न संघीय तथा प्रदेश सरकारलाई आग्रह गर्ने घोषणा पत्रमा उल्लेख गरिएको छ ।
गोष्ठी समापनको अबशरमा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्यले पछिल्लो समयमा पत्रकार महासंघको साधारण सदस्यता शुद्धिकरणको बिषय पेचिलो बन्दै गएकाले पत्रकारिता पेशामा क्रियाशिल नभएका सदस्यहरुले नबिकरण नगर्न आग्रह गर्नुभयो । कार्यक्रममा उपाध्यक्ष बिपुल पोख्रेल, महासचिब रमेश बिष्ट लगाएतकाले बोल्नु भएको थियो ।