प्रधानमन्त्री केपी शर्मा ओली ६ दिन देश बाहिर, यस्तो छ भ्रमण तालिका

  २६ बैशाख २०७६, बिहीबार १०:२५

प्रधानमन्त्री केपी शर्मा ओली आजबाट ६ दिन देश बाहिर हुने भएका छन् । भियतनाम र कम्बोडियाका प्रधानमन्त्रीको निम्तो मान्न बिहीबार त्यसतर्फ जान लागेका ओली ६ दिन उतै व्यस्त हुन लागेका हुन् ।
भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा प्रधानमन्त्री ओली बिहीबार बिहान त्यसतर्फ प्रस्थान गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्रीसँगै उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, संघीय संसद्का सदस्य, राष्ट्रिय योजना आयोगका पदाधिकारी, विभिन्न मन्त्रालयका उच्चपदस्थ सरकारी अधिकृत र गैरसरकारी क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मी पनि त्यसतर्फ जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यस्तो छ भ्रमण तालिका
प्रधानमन्त्री ओली सुरुमा भियतनाम जानेछन् । जहाँ उनी वैशाख २६–३० गतेसम्म व्यस्त रहनेछन् ।
त्यहाँ रहँदा उनले भियतनामका आफ्ना समकक्षी फुकसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । ओलीले नेशनल एसेम्बेलीका अध्यक्षसँग पनि भेटघाट गर्ने कार्यक्रम बनेको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले त्यहाँको ह नाम प्रान्तमा आयोजना हुने अन्तरराष्ट्रिय वैशाख दिवस तथा हो चि मिह्न राष्ट्रिय राजनीति प्रतिष्ठान र नेपाल–भियतनाम व्यवसाय मञ्चलाई सम्बोधन गर्नेछन् । दुई देशबीच द्विपक्षीय सम्बन्ध प्रगाढ पार्न केही सम्झौतासमेत हुने बताइएको छ । यद्यपि, परराष्ट्रले त्यसबारे केही प्रष्ट्याएको छैन ।
प्रधानमन्त्री ओली भियनतामको भ्रमण सकाएर जेठ ३० गते नै उतैबाट कम्बोडिया लाग्नेछन् । त्यहाँ उनले आफ्ना समकक्षी हुन सेन, नेशनल एसेम्बली र सिनेटका अध्यक्षसँग भेट गर्ने तय भएको छ ।
भियतनामको भ्रमणमा जस्तै कम्बोडियामा रहँदा पनि उनले द्विपक्षीय हित प्रवर्द्धनलगायत विषयमा छलफल गर्ने परराष्ट्रले जनाएको छ ।
प्रधानमन्त्री ओली आगामी जेठ १ गते स्वदेश फर्कने कार्यक्रम छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website