वाइडबडी किन्न लिएको ऋणको पुसकै किस्ता बाँकी, चैतमा पनि तिर्न सकेन

  ३० चैत्र २०७५, शनिबार १७:१३

खबर टक

नेपाल वायुसेवा निगमले वाइडबडी जहाज किन्न भन्दै लिएको ऋणको पुस मसान्तसम्मको किस्ता सरकारले तिरिदिने भने पनि अहिलेसम्म तिरेको छैन। यसअघि वाइडबडी तथा न्यारोबडी खरिदका क्रममा निगमले कर्मचारी संचय कोष तथा नागरिक लगानी कोषसँग ऋण लिएको थियो।

निगमले व्याज जोडेर त्रैमासिक (तीन-तीन महिनामा गरी वर्षमा चारपटक) रुपमा किस्ता रकम बुझाउनुपर्ने सम्झौतामा उल्लेख छ। तर निगमले कात्तिक, मंसिर र पुस महिनाको किस्ता तिर्न नसकेपछि सरकारले तिरिदिने प्रतिबद्धता जनाएको थियो।

नागरिक लगानी कोषका प्रवक्ता उद्धव सिलवालले पुस मसान्तसम्मको किस्तामा आधा रकम निगमले तिरेको जानकारी दिए। बाँकी आधा रकम सरकारले तिरिदिने प्रतिबद्धता जनाइए पनि नतिरेको बताए।

‘सरकारले तिर्ने भनिएको रकम प्रक्रियामै छ भनेर जानकारी आउने गरेको छ’ उनले भने ‘अर्को किस्ता पाउनुपर्ने बेला भइसक्यो, अघिल्लो किस्ता पूरा हुन सकेको छैन।’ चैत मसान्तसम्मको किस्ता वैशाख १५ गतेसम्म निगमले बुझाउनुपर्ने उनले बताए। कोषले किस्तामा १५ दिनसम्मको छुट सुविधा दिने गरेको छ। नागरिक लगानी कोषलाई निगमले त्रैमासिक रुपमा करिब ४० करोड रुपैयाँ किस्ता बुझाउनुपर्छ।

कर्मचारी संचय कोषको पुस मसान्तसम्मको किस्ता पनि तिरिएको छैन। कोषका प्रशासकीय अधिकृत तुल्सीराम गौतमले न्यारोबडीका लागि लगेको रकमको किस्ता नियमित तिरे पनि वाइडबडीको तिर्न बाँकी छ। कोषमा पनि निगमले वाइडबडीको किस्ता प्रत्येक त्रैमासिक रुपमा ४० करोड रुपैयाँ भुक्तानी गर्नुपर्छ। सो रकममा कत्ति पनि उपलव्ध नभएको गौतमले जानकारी दिए।

‘उडान ढिलो हुने भएपछि चैत मसान्तसम्मको किस्ता पनि तिर्न सक्ने देखिएन,’ उनले भने। तिर्नुपर्ने किस्तालाई पुन ऋणमा समायोजन गरी लैजानुपर्ने जरुरत देखिएको गौतमले बताए।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website