शारदा नगरपालिका सल्यानको १ अर्ब १९ करोड रुपैँयाको वजेट
सल्यानको शारदा नगरपालिकाले १ अर्ब १९ करोड रुपैँया बढीको वजेट सार्वजनिक गरेको छ । यस बर्ष जिल्लामै पहिलो पटक विहीबार नगरपालिकाले आगामी बर्षको वजेट सार्वजनिक गरेको हो । नगरप्रमुख प्रकाश भण्डारीको अध्यक्षतामा सम्पन्न नगरसभाको अधिवेशनमा नगर उपप्रमुख सुस्मिता सापकोटा सुनारले आर्थिक वर्ष २०८२र०८३ को लागि १ अर्ब १९ करोड २९ लाख १२ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो । नगरसभाले सो बजेटलाई सर्वसम्मत रूपमा पारित गरेको छ । यस नगरपालिकाले अघिल्लो आर्थिक वर्ष २०८१÷०८२ मा ८२ करोड ७१ लाख ९७ हजार रुपैयाँको बजेट ल्याएको थियो ।
बजेटको स्रोततर्फ २ करोड रुपैयाँ आन्तरिक आयबाट उठाउने योजना छ भने १ अर्ब १७ करोड २९ लाख १२ हजार रुपैयाँ प्रदेश तथा संघ सरकारबाट प्राप्त अनुदानबाट व्यहोर्ने लक्ष्य राखिएको छ । आन्तरिक आम्दानीतर्फ भूमि तथा मालपोत कर, व्यवसाय कर, सेवा शुल्क, जरिवाना, मालपोत कार्यालयबाट प्राप्त हुने रकम, र अन्य शुल्कहरूबाट करिब २ करोड रुपैयाँ आम्दानी हुने लक्ष्य लिइएको छ । संघीय र प्रदेशबाट समानीकरण अनुदान, राजस्व बाँडफाँट, सशर्त र समपुरक, सामाजिक सुरक्षा भत्ता, विशेष अनुदान लगायत शीर्षकबाट ठूलो मात्रामा अनुदान प्राप्त हुने अनुमान गरिएको छ ।
कार्यक्रमगत विनियोजनको विश्लेषण गर्दा शिक्षा, युवा तथा खेलकुदमा २५ करोड ८५ लाख, स्वास्थ्य तथा पोषणमा ५ करोड ८९ लाख ३८ हजार, कृषि विकासमा ५८ लाख २० हजार, पशु सेवामा ३७ लाख ५० हजार, महिला, बालबालिका तथा समाज कल्याणमा २० लाख विनियोजन गरिएको छ ।
यस्तै खानेपानी तथा सरसफाइमा ४६ करोड २४ लाख ७३ हजार, सहकारी संघसस्थामा १० लाख, वन तथा वातावरणमा ३५ लाख, विपद् व्यवस्थापनमा ३० लाख, सूचना प्रविधिमा ४० लाख, अध्ययन अनुसन्धानमा १० लाख, स्वास्थ्य उपचार कोषमा १५ लाख, मर्मत सम्भार कोषमा १० लाख, उपप्रमुख पोषण कोशेली कार्यक्रममा ५ लाख, कार्यालय सञ्चालनमा ५ करोड, कर्मचारी पारिश्रमिक तथा सुविधामा ७ करोड ४४ लाख, पदाधिकारी सेवा सुविधमा १ करोड ३० लाख, नगर प्रहरीमा १ करोड ५ लाख, वडागत पुँजीगत ३ करोड, वडागत चालु ६९ लाख, रोजगार परियोजना २ करोड ४४ लाख ३१ हजार, पूर्वाधार योजनामा १ करोड ६८ लाख, सवारी साधन खरिदमा ५० लाख, भुक्तानी बाँकी परियोजनामा २० लाख र क्रमागत योजनामा ८७ लाख रुपैँया विनियोजन गरिएको छ ।
नगरप्रमुख भण्डारीले बजेट समावेशी, न्यायपूर्ण र विकासमुखी रहेको बताउँदै यो बजेटबाट शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, रोजगारी, वातावरण तथा सामाजिक सुरक्षा क्षेत्रमा महत्वपूर्ण सुधार आउने विश्वास व्यक्त गर्नुभयो । उपप्रमुख सापकोटाले प्रस्तुत बजेटमा नागरिकका आवश्यकता, स्रोतको सम्भाव्यता र योजनाको प्राथमिकतालाई समेटेर बनाइएको बताउनुभयो । यस नगरपालिकाले बुधबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो ।