सम्पूर्ण अधिकार सहितको नागरिकता दिन केसीको जोड
बेल्जियम
गैरआवासीय नेपाली संघ बेल्जियमका निवर्तमान अध्यक्ष एवम् युवा व्यवसायी खड्गबहादुर केसीले सरकारले प्रवासी नेपालीहरुका लागि प्रदान गर्ने भनिएको गैरआवासीय नेपाली नागरिकताका सन्दर्भमा चिन्ता र चासो व्यक्त गरेका छन् ।
पूर्व अध्यक्ष केसीले गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा भइरहेको ढिलाइले विदेशस्थित नेपाली समुदायमा चरम निराशा पैदा गरेको छ र कालान्तरमा यसको प्रभाव नेपालको आन्तरिक राजनीतिमा समेत देखापर्ने भएकोले सरकारले यसलाई अविलम्व निराकरण गर्नु पर्ने सुझाएका छन् ।
केसीका अनुसार “वर्तमान ठूला दलहरू कांग्रेस, एमाले, माओवादी सबैले विदेशस्थित नेपालीहरूमाथि आफ्नो प्रभाव राख्न चाहन्छन्, तर तिनै प्रवासी नेपालीहरुका नागरिकता लगायतका जायज मागहरू बेवास्ता गरिन्छन भने उनीहरुमा निराशा उत्पन्न हुनु स्वाभाविक हो ।यो निराशा र असन्तोषको समयमै व्यवस्थापन गर्न सकिएन भने भविष्यमा ठुला दलहरुले क्षति व्यहोर्नु पर्ने अवस्था नआउला भन्न सकिन्न” ।
केसीले यदि नागरिकता जस्तो संबेदनशील बिषयमा सरकारले तत्काल प्रष्ट कानून नल्याएमा ठूलो संख्यामा प्रवासी नेपालीहरुको झुकाव बैकल्पिक शक्ति र राजसंस्थामा जान सक्ने पनि ईगित गरेका छन् ।
त्यतिमात्र हैन नागरिकताको बिषय नेपालमा लगानीको सुनिश्चितता र सम्बृद्धिसंग पनि जोडिएकोले सरकारले गैरआवासीय नागरिकता प्रदान गर्ने कार्यविधिलाई तत्काल परिमार्जन र लागु गर्न समेत आग्रह गरेका छन् ।
पूर्व अध्यक्ष केसीले प्रवासी नेपालीहरुलाई गैरआवासीय नागरिकता नदिएर आर्थिक, सामाजिक र राजनैतिक अधिकार सहितको बंशजको आधारमा नागरिकता दिनु पर्ने पनि बताएका छन् ।