सल्यानका छ सय ३५ कृषक ब्यावसायिक कृषिमा
सल्यानमा छ सय ३५ कृषकहरु ब्यावसायिक कृषिमा लागेका छन् । करिब ३ वर्षको अवधिमा जिल्लाका छ सय ३५ जना कृषकहरु ब्यावसायिक कृषिमा लागेका हुन् । यस्तै १ सय ५४ वटा कृषक समूह गठन गरेर तीन हजार ६८ जना कृषकहरु पनि कृषिमा आबद्ध भएका छन्।
युएसएआईडीको आर्थिक सहयोगमा दलित विकास समाज सल्यान मार्फत जिल्लामा सञ्चालन भएको कृषि, स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन प्रबद्र्धन (पहल) कार्यक्रमको बिहीवार खलंगामा समापन गर्दै यस्तो तथ्यांक सार्वजनिक गरिएको हो । दलित विकास समाजका कार्यकारी निर्देशक दुर्गा पुनले यस अवधिमा कार्यक्रम लागु भएका स्थानमा चारवटा कृषि हाटबजार, दुई वटा तरकारी उत्पादनका नमूना फार्म निर्माण गरेको बताउनुभयो ।
यस्तै चारवटा खानेपानी मुस, एउटा सोलार खानेपानी मुस, ११ सिंचाई तथा पोखरी निर्माण तथा तीन सय सात घरधुरी सुरक्षित खानेपानीको पहुचमा पुगेको उहाले बताउनुभयो। पहल कार्यक्रम साविकका गाविसहरु लेखपोखरा, दमाचौर, निगालचुला, कुपिण्डे दह, लक्ष्मीपुर र रामपुरमा सञ्चालन भएको थियो ।
दलित विकास समाजका अध्यक्ष नीमबहादुर नेपालीको अध्यक्षतामा भएको समापन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख केश बहादुर बिष्टले पहलले गरेका कामहरु जनमुखी भएको बताउनुभयो । विकास भनेको पूर्वाधारको विकास गर्नु मात्रै नभएको बताउदै उहाले स्थानीय स्तरमा पुगेर जनसहभागिता बढाउनु, तालिम, गोष्ठी, छलफल गर्नु पनि अर्को महत्वपूर्ण क्षेत्र भएको बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख हरिप्रकाश बुढाथोकी, शारदा नगरपालिकाका उपप्रमुख सावित्रा बस्नेतलगायत सरोकारवालाहरुको सहभागिता रहेको कार्यक्रमको संयोजक धु्रव सुनारले गर्नुभएको थियो।