सल्यानमा उत्पादित टिमुरका बिरुवा ४० जिल्लामा निर्यात, एक सिजनमा २० लाख आम्दानी
सल्यानमा उत्पादित टिमुरका बिरुवाहरुको माग बढ्दै गएको छ । जिल्लामा उत्पादित टिमुरका बिरुवाहरु सबै क्षेत्रहरुमा रोप्न सकिने र गुणस्तरीय हुने भएकाले यसको माग उच्च रहेको हो । जिल्लाका बिभिन्न कृषकहरुले नर्सरी नै स्थापना गरेर फलफूलका बिरुवा उत्पादन गर्दै आएका छन् । जिल्लाको कपुरकोट गाउँपालिका वडा न ३ कपुरकोटका ३५ वर्षिय तिलक शर्माले भने टिमुरका बिरुवा उत्पादन गर्दै आउनु भएको छ ।
४ रोपनी जग्गामा नर्सरी स्थापना गरेर टिमुरका बिरुवा उत्पादन गर्न थालेका उहाँले अहिले आफुसँग झण्डै डेढ लाख बिरुवा भएको बताउनुहुन्छ । उहाँले टिमुरका बिरुवाको संखुवासभा देखी बैतडी सम्मका महाभारत श्रंखलाका ४० जिल्लाबाट माग आएको बताउनुभयो । ‘यस सिजनमा मैले झण्डै एक लाख ५० हजार टिमुरका बिरुवा उत्पादन गरेको छु, ४० जिल्लाबाट ३ लाख बिरुवाको माग आएको छ, माग अनुसारको बिरुवा पु¥याउन सकेको छैन्’— उहाँले भन्नुभयो ।
माग अनुसारको बिरुवा उपलब्ध गराउन नसकेको उहाँको भनाई छ । बिगतमा खाद्यान्न र नगदेबालीबाट आम्दानी राम्रो नभएपछि व्यावसायिक रूपमा टिमुरका विरुवा उत्पादन गरी विक्री गर्न नर्सरी व्यवसाय अंगालेका उहाँले शुरुका केही वर्ष नर्सरीबाट सोचेजस्तो आम्दानी हुन नसकेपनि निरन्तर व्यवसायमा लागेपछि अहिले वार्षिक १५ देखि २० लाख रुपैँया आम्दानी भैरहेको बताउनुभयो । चापागाई नर्सरी स्थापना गरी उहाँले चार रोपनी जग्गामा बिरुवा उत्पादन गर्दै आउनु भएको छ ।
गाउँघरका सयौं युवाहरू रोजगारीका लागि विदेश पलायन भई रहेको समयमा स्वदेशमा पनि काम गर्न सके मनग्य आम्दानी गर्न सकिने उहाँले बताउनुभयो । विदेशभन्दा स्वदेशमै कुनै एउटा व्यवसाय गरेमा सन्तुष्ट र सफल हुने उहाँको दावि छ । उहाँले ग्राहक नर्सरीमै आएर बिरुवा लिने भएकाले बजारीकरणको कुनै समस्या नभएको बताउनुभयो ।
‘कृषक लक्षित कार्यक्रम कुनै पनि छैन, टिमुरको विरुवा धेरै उत्पादन गर्ने नेपालकै एक नम्बर हुँ, तर स्थानीय सरकारदेखि कुनै पनि सरकारले सहयोग गरेनन्’ उहाँले थप्नुभयो —‘बरु बिरुवाको माग गर्दै वडा सदस्य देखी मन्त्री सम्म बाट फोन आउँछ ।’ टिमुरको उमारशक्ति भनेकै १० देखि १५ प्रतिशत भएपनि आफुले ७० प्रतिशत सम्म बिरुवा उमोर्न गरेको उहाँको भनाई छ ।