सिन्डिकेट हटाउने महानिर्देशकलाई विभागबाट हटाए मन्त्री महासेठले
काठमाडौं -जेठ ४,
यातायात सिन्डिकेट हटाउन विशेष भूमिका निभाएका यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईलाई विभागबाट हटाइएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठको ठाडो आदेशले भट्टराईलाई मन्त्रालय तान्ने निर्णय गरिएको हो । शुक्रबार सहसचिव ध्रुव जोशीले हस्ताक्षर गरेको पत्र भट्टराईले पाएका छन् ।
मन्त्री महासेठले बुधबार राति विभागका महानिर्देशक भट्टराईलाई मन्त्रालय तान्ने निर्णय गरे पनि कर्मचारीको असहयोगका कारण पत्र थमाउन सकेका थिएनन्।
सरुवाको निर्णयमा सचिवले हस्ताक्षर गर्न नमानेपछि सहसचिवले गरेका हुन ।
पछिल्लो समय यातायात क्षेत्रमा रहेको सिन्डिकेट तोड्न भट्टराईले महत्वपूर्ण भूमिका खेलेका थिए । भौतिक पूर्वाधारमन्त्रीले खुट्टा कमाएका बेला महानिर्देशक भट्टराईले सिन्डिकेट खारेज गर्ने गृहमन्त्री रामबहादुर थापा बादलको अभियानलाई दह्रो साथ दिएका थिए ।
सरकार सिण्डिकेटविरुद्ध कडा रुपमा प्रस्तुत हुँदा पनि मन्त्री महासेठ व्यवसायीहरुप्रति लचिलो बनेका थिए । गृहमन्त्रीको नेतृत्वमा बसेको बैठकको निर्णय विपरित महासेठले सिण्डिकेटको पक्षमा रहेका समितिहरुको बैंक खाता रोक्का फुकाउने गोप्य सहमति गरेका थिए ।
अहिले सिन्डिकेट त हटाएको छ तर, त्यसलाई व्यवस्थित गर्न गर्नु पर्ने कामहरु थुप्रै छन् । त्यस्तो बेला यातायात व्यवस्था विभागमा महानिर्देशक फेर्नुलाई व्यवसायीको प्रभावमा परेर गरिएको चलखेलका रुपमा हेरिएको छ ।
१३ महिनादेखि व्यवस्था विभाग सम्हालेका महानिर्देशक भट्टराईले करिब ८० कर्मचारीलाई विभागीय कारबाही गरिसकेका छन्।
यसअघि पनि मन्त्रिपरिषद बैठकले भट्टराईको सरूवा गर्ने निणर्य गरेको थियो। तर, तत्कालिन यातायात मन्त्री विरवहादुर वलायरले उनको सरूवा रोकेका थिए।