हावाहुरीबाट ज्यान जानेको संख्या २ पुग्यो, जन जिवन प्रभावित
कैलाली – कैलालीमा हावाहुरीमा परेर दुई जनाको ज्यान गएको छ । ७० जनाभन्दा धेरै घाइते भएका छन् भने भौतिक संरचनामा क्षति पुग्दा जनजीवन प्रभावित भएको छ ।
हावाहुरीबाट गोदावरी नगरपालिका, कैलालीका वीरबहादुर चौधरीको ज्यान गएको छ ।
बिहीबार बेलुकी हावाहुरी चलेपछि टिकापुर नगरपालिका–२ राजीपुरमा मोटरसाइकल अनियन्त्रित भएर टिप्परसँग ठोक्किँदा मोटरसाइकल चालक स्थानीय वीरबहादुर चौधरीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै त्यही ठाउँमा हुरीबतासले पर्खाल भत्काउँदा पोल्ट्रिफार्म सञ्चालन गरेर बसेका ४७ वर्षका लाहानु दवैराको ज्यान गएको छ । भत्किएको पर्खालले लागेर घाइते भएका दवैराको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । घाइते धेरै जना सामान्य उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, सयौंको संख्यामा रुखहरु ढलेका छन् भने घरका टिनका छाना उडाएका छन् । छाना उडाएपछि रातभर कष्टकर जीवन बिताएको पीडितहरुले बताएका छन् । सडकमा रुख ढल्दा कैलालीका विभिन्न स्थानको सवारी आवागमनसमेत प्रभावित भएको छ । यद्यपि, यसलाई हटाएर सवारी सञ्चालनमा ल्याउने प्रयास भइरहेको कैलाली प्रहरीले जनाएको छ । हुरीले कैलालीमा विद्युतका पोलसमेत भाँचिदिएको छ । दर्जनौंको संख्यामा जिल्लाका विभिन्न स्थानबाट पोल भाँचिएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । बिजुलीका पोल भाँचिएपछि जिल्लाका अधिकांश स्थानमा विद्युत सेवा बन्द भएको छ । प्रहरीका अनुसार, टेलिफोन सेवा पनि प्रभावित भएको छ ।