भेरी–बबई डाइभर्सनको विद्युत आयोजना कर्णाली प्रदेशलाई उपहार दिनुपर्ने मन्त्री ज्वालाको माग
कर्णाली प्रदेशका अर्थमन्त्री प्रकाश ज्वालाले भेरी–बबई डाइभर्सनको विद्युत आयोजना संघिय सरकारले कर्णाली प्रदेशलाई उपहार दिनुपर्ने माग गरेका छन् ।
राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङमार्गको ‘ब्रेक थ्रु गरिएको छ । २०७६ साल चैत १५ गतेसम्म निर्माण सक्नुपर्ने सम्झौता गरेको चिनियाँ निर्माण कम्पनी कोभेकले १२ हजार २ सय मिटर लामो सुरुङमार्ग निर्धारित समयभन्दा एक वर्षअघि नै सम्पन्न भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्गको ब्रेक थ्रु गर्नुभएको हो । मन्त्री ज्वालाले सुर्खेत र सल्यान प्रभावित क्षेत्रका जनताका लागि खानेपानी, सिंचाई, शिक्षा, स्वास्थ्य र रोजगारीमा समेत सहयोग गर्नु पर्ने उनको भनाई छ ।
आयोजना निर्माणका लागी जग्गाधनी पुर्जा उपलब्ध गराउने काम तत्काल गर्न पनि मन्त्री ज्वालाले ध्यानाकर्षण गराएका हुन । यसका लागि दैलेखको डुंगेश्वर खोलाबाट प्रदेश राजधानी सुर्खेत उपत्यकामा सुरुङ्गबाट पानी ल्याएर खानेपानी, सिंचाई, विद्युत सहितको बहुउद्धेश्यीय आयोजना सञ्चालन गर्न सकिने सम्भावना रहेको बताउदै मन्त्री ज्वालाले अहिले प्रयोग गरिएको टीबिएम मेशिन त्यहाँ प्रयोग गर्न सकिने औल्याएका हुन । कर्णाली प्रदेश र ५ नम्बर प्रदेशको मितेरीका रुपमा रहेको आयोजनाबाट भेरी नदीको पानी बबईमा खसालेर बर्दिया र बाँकेको करिब ५१ हजार थप भूमिमा सिंचाई उपलब्ध हुनेछ ।
भेरीको पानी अर्थात् स्रोतमाथि कर्णालीका जनताको अग्राधिकार रहेकोले यसै आयोजनाबाट निस्कने ४८ मेघावाटको विद्युत् आयोजना जनताको लगानीमा कर्णाली प्रदेश सरकारले बनाउनु पर्ने दाबी र अनुरोध प्रदेश सरकारको रहेको छ ।
- 138Shares